info@nwa.edu.np +977-091-527005
info@nwa.edu.np +977-091-527005

एनडब्लुए कलेजको अन्तर्राष्ट्रिय छलाङ: जापानका पाँचतारे होटलमा एकैपटक १ दर्जनभन्दा बढी विद्यार्थी पठाउदै

https://dhangadhikhabar.com/news/84150

धनगढी । पोखरा विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त धनगढी–२ स्थित नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए) कलेजले होटल म्यानेजमेन्ट शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कलेजमा अध्ययनरत होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमका एक दर्जनभन्दा बढी विद्यार्थीहरू जापानको टोकियोस्थित पाँचतारे होटलहरूमा एक वर्षे आकर्षक तलब सहितको पेड इन्टर्नसिप प्लेसमेन्ट प्राप्त गर्न सफल भएका छन्।

एकैपटक यति ठूलो संख्यामा विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको इन्टर्नसिपमा पठाउन सफल हुनु कलेजका लागि मात्र होइन, सुदूरपश्चिमकै शैक्षिक इतिहासमा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले बीएचएम अध्ययनरत विद्यार्थीहरूका लागि इन्टर्नसिप केवल शैक्षिक औपचारिकता नभई उज्ज्वल करियरको पहिलो र निर्णायक पाइला हो भन्ने कुरालाई स्पष्ट रूपमा पुष्टि गरेको छ।

कलेजका सञ्चालक शैलेश कुमार सिंहका अनुसार विश्वस्तरीय पाठ्यक्रम, अनुभवी शैक्षिक जनशक्ति, अनुशासनमा आधारित शिक्षण प्रणाली तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको निरन्तर समन्वयका कारण यस्ता उपलब्धिहरू सम्भव भएका हुन्।

 पोखरा विश्वविद्यालयबाट प्राप्त उत्कृष्ट नतिजा, अन्तर्राष्ट्रिय शैक्षिक जगतमा प्राप्त ‘बेस्ट होटल म्यानेजमेन्ट कलेज’ अवार्ड तथा निरन्तर हुँदै आएका अन्तर्राष्ट्रिय इन्टर्नसिप प्लेसमेन्टकै कारण आजको मितिमा बीएचएम र बीबीए कार्यक्रम अध्ययनका लागि देशकै उत्कृष्ट कलेजहरूको सूचीमा एनडब्लुए कलेज पर्न सफल भएको उनको भनाइ छ।

होटल म्यानेजमेन्ट क्षेत्र नेपाली युवाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीको अत्यन्तै सम्भावनायुक्त क्षेत्र बन्दै गएको छ। सही मेहनत, समयसापेक्ष सीप र उपयुक्त अवसरको खोजी गर्न सके नेपाली विद्यार्थीहरूको माग विश्व बजारमा अझ बढ्दै जाने विश्वास गरिएको छ। जापानजस्तो अनुशासित र व्यावसायिक मुलुकमा प्राप्त इन्टर्नसिप अवसरले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, सेवा मापदण्ड र व्यावहारिक अनुभव प्रदान गर्नेछ।

इन्टर्नसिप अवधिमा विद्यार्थीहरूले होटल म्यानेजमेन्टसम्बन्धी व्यावहारिक सीपसँगै नेतृत्व क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धि गर्नेछन्। यसले भविष्यमा जापानसहित अन्य मुलुकहरूमा समेत रोजगारीका थप अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कलेजका एकेडेमिक डाइरेक्टर भीमबहादुर चौधरीका अनुसार हरेक वर्ष विभिन्न देशहरूमा विद्यार्थीलाई इन्टर्नसिपका लागि पठाउने क्रममा गुणस्तरीय शिक्षा कायम राख्नु कलेजका लागि थप चुनौती र जिम्मेवारी बनेको छ। यद्यपि, प्रतिस्पर्धी शैक्षिक वातावरणमा पनि विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यसहित कलेज निरन्तर सुधार र नवप्रवर्तनमा लागिरहेको उनले बताए।

पोखरा विश्वविद्यालयले हालै पाठ्यक्रम परिमार्जन गरी बीएचएम कार्यक्रमसँगै बीबीए (फाइनान्स) कार्यक्रममा पनि इन्टर्नसिप व्यवस्था गरेको छ। यसअनुसार एनडब्लुए कलेजले बीबीए अध्ययनरत विद्यार्थीहरूलाई समेत अन्तर्राष्ट्रिय स्तरमै इन्टर्नसिप प्लेसमेन्ट गराउने उद्देश्यसहित विभिन्न देश तथा क्षेत्रसँग आवश्यक समन्वय गरिरहेको कलेज प्रशासनले जनाएको छ।

समग्रमा, एनडब्लुए कलेजको यो उपलब्धिले नेपालमै बसेर विश्वस्तरीय होटल म्यानेजमेन्ट शिक्षा र अन्तर्राष्ट्रिय करियर सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ। यस्ता सफलताले आगामी दिनमा थप विद्यार्थीलाई गुणस्तरीय शिक्षा, व्यावहारिक अनुभव र अन्तर्राष्ट्रिय अवसरतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।